रविको गर्जनः “यिनीहरूलाई जिरो पारेपछि देश नेपाल हिरो बन्छ”
Updated: Dec 20, 2025

Updated: Exclusive: चितवन- नेपाली राजनीतिमा प्रभावशाली नेता एवं रास्वपा सभापति रवि लामिछाने बुटबल कारगारबाट रिहाई भएपछि सिंधै आफ्नो गृह जिल्ला चितवन पुग्दा उनको एक झुल्को अनुहार देख्न र उनको आगो ओकल्ने भाषण सुन्न आतुर हजारौं जनताको भिडले भन्दै थियो- हाई हाई रवि दाई ! आयो आयो बाघ आयो!!
रविले चितवनमा भेला भएका जनतालाई सम्वोधन गर्दै देशले एउटा बाटो लिने तयारी गरेको बेला सबैले अत्यन्त संयमित हुनु पर्ने कुरामा जोड दिए। भाद्र २३ को नरसंहार र दमनको कारण चौविसको घटना घटेको स्मरण गराउँदै उनेले भने- “म जेन्जी भाईबहिनीहरूको रगतको थोपो एउटा पनि खेर जान दिन्न। हामीले शुरू गरेको शान्त विद्रोह निलो क्रान्तिलाई यिनीहरूले टेरेनन्- यिनीहरू लातका भूत थिए, बातका भूत थिएनन्।”
उनले स्पष्ट भाषामा “चौविस गते जनआन्दोलन भएको हो” भनेर जेनजी आन्दोलनलाई जनताकै भाषा र आकाँक्षामा अनुमोदन गरे।
रविले जेनजी भाईबहिनीहरूलाई अभिभावकत्व दिंदै आश्वस्त पार्दै भने- “सिंहदरवार बनाउँला। संसद भवन बनाउँला, न्यायालय पनि बनाउँला। तर वर्षौंदेखि खरानी भएको हाम्रो सपना कसले बनाउँछ? हामी बनाउँछौं। हामी जेनजीको साथ बोकेर हामी बनाउँछौं। जेनजी भाई हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छौ?”
रविले अगाडि भने- “अब यो यात्रालाई टंगोमा पुर्याउनको लागि हामी एक्लो छैनौं। सिंगो देश र संसारभरीका नेपालीहरू हाम्रो साथमा छन्।”
सक्छौ भने जनताको मनबाट बाहिर निकाल
आफूलाई चुनाव लड्न दिए पनि साँसद, मन्त्री बन्न दिदैनन् कि भनेर सोधेका पत्रकारहरूको जवाफ दिंदै रविले भने- “मान्छे हुन पाउँछु म? तिमीहरूले मलाई मान्छे हुन मात्र दिनेछौ? मान्छे मात्र भएछु भने पनि भ्रष्टाचारीहरूको महललाई खरानी बनाउन प्रयाप्त छ रवि लामिछाने। मान्छे त बन्न दिन्छौ होला नि? अनागरिक बनायौ। झुठा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ। तर जनताको मनबाट निकाल्न सक्छौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल, म तयार छु।”
उनले आफूलाई मुद्दाको नाममा दिएको सास्तीको उल्लेख गर्दै भने- “म हिजोको रवि लामिछाने रहिन। मलाई रहन दिएनन् यिनीहरूले। म समाज परिवर्तन गर्न हिंडेको थिएँ। झुठा मुद्दाको चाँग माथि उभ्याए, ठीक छ, त्यहीं झुठा मुद्दाको चाँग माथि उभिएर म व्यक्ति मात्र भए पनि भ्रष्टाचारीको महल ढाल्छु।”
रविको हुँकार थियो- “हेलिकप्टर चढेर भाग्नेहरूसंग भाग्छ लामिछाने? सामना गर्छ। लगाउ अरू मुद्दा, मलाई केही भन्नु छैन।”
“यिनीहरूलाई जिरो पारेपछि देश नेपाल हिरो बन्छ”
रविले जनतालाई कि आफूलाई जिरो बनाउन कि भ्रष्टहरूलाई जिरो बनाउन चुन्नु पर्ने भन्दै भने- “मैले पहिले पनि भनेको थिएँ, यो भोट बाँडेर नदिनु होला, एउटा भोट उलाई दिउँ, अर्को भोट उलाई दिउँ नगर्नु होला। आज म फेरी यहींबाट उद्घोष गर्न चाहन्छु- कि मलाई जिरो पार्नुस्, कि यिनलाई जिरो पार्नुस्। कि हामीलाई जिरो पार्नुस्, हैन भने एक पटक यिनीहरूलाई जिरो पारेर हेरौं। यिनलाई जिरो पारेपछि देश नेपाल हिरो बन्छ।”
जनताको मद्दा बोकेर हिंडेपछि कि सिंहदरवार गईन्छ कि नक्खु गईन्छ
रविले स्वदेशी जनता र भविष्य खेज्दै विदेशमा पुगेका नेपालीहरूलाई आश्वस्त पार्दै भने-
“म किन डराउँछु? जनताको मद्दा बोकेर हिंडेपछि कि सिंहदरवार गईन्छ कि नक्खु गईन्छ। तर मैले जनताको मद्दा छोड्नेवाला छैन। … म नेपाली जनतालाई जिताउने यात्रामा अगाडि बढेकोछु, नेपाली जनताले जित्दा को कसले हार्छन्, मलाई मतलब छैन। नेपाली जनतालाई जिताउने हो, को हार्छन्, को भाग्छन्, कसको घरमा के बरामद हुन्छ, … कसको घरबाट पैसाको नोट उड्छ, मलाई प्रवाह छैन। तर जित्नु चैं पर्छ। कसले? मैले हैन तपाईले जित्ने हो। अहिले जन्मिएकाले मात्र हैन, भोली जन्मिने बच्चा बच्चाहरूले पनि जित्नु पर्छ। यहीं देशमा भविष्य खोज्ने हो। यहीं देशमा हामी बस्ने हो। हामी भागेर जाने हैन, यहीं देशमा भविष्य खोज्ने हो, भविष्य खोज्न विदेश गएकाहरूलाई पनि आफ्नो देशमा फर्कन सक्ने वातावरण बनाउन लड्ने हो, लड्ने हो, लड्ने हो।”





Comments