बलात्कारपछि हत्या: अबोध बालिका सम्झनाको न्याय खोई?
- Nepalism.com
- Sep 27, 2020
- 2 min read

by Deepa Nepalee in Kathmandu
Exclusive: काठमाडौं: नेपालको बझाङ जिल्लाको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया अबोध बालिका सम्झना कामीको सेप्टेम्बर २३ तारिख बुधबार बलात्कारपछि निर्मम् हत्या भएकोछ। सो आरोपमा प्रहरीले सोही गाउँका १८ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ। यसैबिच, निज बोहोराले गत साउन २९ गते दलित समुदायकै अर्की एक १४ वर्षीया बालिकालाई समेत बलात्कार गरेको खुलासा भएको छ। हाम्रो समाजमा यसरी बलात्कारको शिकार भएर बालिकाहरु प्रताड़ित हुँदा र निर्मम् हत्या भईरहँदा सरकारलाई लाज लाग्छ कि नाई ? किन दिनानुदिन बलात्कारका घटना बढिरहेका छन् ?
घटना कसरी घट्यो?
उक्त दिन सम्झना सदाझैं साँझ साढे ५ बजेतिर घरदेखि आधा घण्टा टाढा रहेको गोठमा गाई-गोरु बाँध्न निस्केकी थिइन्। गोठमा पुग्नु अघि बाटोमा लाछीगाड खोला र जंगल पार गर्नु पर्थ्यो तर यो साँझ नरपिपासु राजेन्द्र बोहोराले एक्लै जंगल पार गरी गोठमा आई घर फर्किदै गरेकी सम्झनालाई बलात्कार गर्यो र आफ्नो अमानवीय करतुत लुकाउन सम्झनालाई बिभत्स हत्या गरी नजिकैको मन्दिरमा लासलाई फालेर भाग्यो।
सम्झनाका आमा-बाबा ४ वर्षदेखि भारतको बैग्लोरमा रहेकाले उनी दुई ससाना बहिनीहरूसहित बाजे-बज्यैसँग बस्दै आएकी थिइन् । त्यस दिन पनि सधैंझै उनी गाई-गोरू बाँधन गोठतिर लागेकीथिईन्। तर पहिले जसरी एक घण्टाभित्र गोठमा गाई-गोरू बाँधेर सम्झना घर फिर्ता नआएपछि उनका हजुरबुवाले सम्झनाको खोजी गर्न निस्केका थिए तर सम्झनालाई फेला पार्न सकेनन्। त्यसपछि हजुरबुवाले गाउँलेहरूलाई सम्झनाको खोजिको लागि गुहार मागेका थिए।गाउँलेहरूले खोजी गर्दा गाई-गोरु बाँध्ने गोठ र घरको बिचमा पर्ने सिमदेवता मन्दिर भित्र सम्झनाको शरीर मृत अवस्थामा फेला पारेका थिए। सम्झनाको शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएको थियो। सम्झनाका बाजेले राजेन्द्र बोहोरा विरुद्ध जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले निज बोहरालाई असोज ८ गते बिहीबार पक्राउ गरी हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कारपछि मिलापत्र
निज राजेन्द्र बोहोराले गत साउन २९ गते दलित समुदायकै अर्की एक १४ वर्षीया बालिकालाई समेत बलात्कार गरेको खुलासा भएको छ।
उक्त बलात्कारको घटनापछि केही ठालू गाउँलेहरूको दबावमा मिलापत्र गरी घटनालाई सामसुम पारिएको खुल्न गएको हो। मिलापत्रको नाममा बलात्कृत बालिकाको हातमा ‘दक्षिणा’ भन्दै ५ सय रूपैयाँ पातमा राखेर दिएको बताईएकोछ।
मिलापत्रमा उल्लेख भएअनुसार निज बालिका पानी घट्टमा गएको समयमा निज बोहोराले ती बालिकालाई बलात्कार गरेका थिए। बलात्कृत बालिकाले बलात्कारको सबै घटनाक्रम बताएपछि गाउँका ठालू भनाउँदाहरूले मिलापत्र गराएका थिए। मिलापत्रमा यदि बलात्कृत बालिकाको गर्भ रहन गएमा निज बोहोरालाई नै जिम्मा लगाउने भनि उल्लेख गरिएको छ।
सरकार किन मौन छ?
यसरी बलात्कारको शिकार भएर बालिकाहरु प्रताड़ित हुँदा र निर्मम् हत्या भईरहँदा सरकारलाई लाज लाग्छ कि नाई ? हाम्रो समाजमा किन दिनानुदिन बलात्कारका घटना बढिरहेका छन् ? दिनदहाडै बलात्कारका घटनाघटिरहँदा तीन तहकै सरकारले के हेरेर बसेको छ? सरकारले नेपाली छोरीचेलीलाई सुरक्षाको प्रत्याभूति दिन किन सकिरहेको छैन? देशमा जनताको अमनचैन सरकारको सर्वोपरी दायित्व हुनु पर्ने हैन र?
留言