के हो नेपाली राष्ट्रियता?

नेपाली राष्ट्रियताबारे भाषा र साहित्यमा रसियाबाट एमए गरेका खरो टिप्पणीकार ससाङ् लामाको बिचारोत्तेजक आलेख पढेर रचनात्मक बहसमा सहभागी बन्नुहोस् ।



- ससाङ् लामा, न्यू योर्क


"राष्ट्रियता पोशाक र झण्डामा होइन, भावनामा बहनु पर्छ, मुटुमा संगालिनु पर्छ, हृदयमा ब्याप्त हुनुपर्दछ, ब्यवहारमा झल्किनु पर्दछ र कार्यमा देखिनु पर्दछ ।"


"झन्डा र पोशाक फेर्दैमा हाम्रो राष्ट्रियता नासिने कस्तो चुत्था राष्ट्रियता रहेछ त! सुरुवालको इन्जारमै हाम्रो राष्ट्रियता झुण्डेको छ,दौराको तुनामै हाम्रो राष्ट्रियता अडकेको छ र ढाका टोपीले नै राष्ट्रियता टिकाएको छ भनेर कसैले भन्छ भने त्यो भन्दा हाँस्यास्पद कुरो अरु के हुन सक्छ?"


"राष्ट्रियताको अर्को मेरुदण्ड चाँहीं खस भाषा हो । नेपाली जनताको संपर्क भाषाको रुपमा पूर्णरुपमा स्थापित भएको खस भाषा नै नेपाली राष्ट्रियता जोगाउने एकमात्र प्रतीक हो । जबसम्म यो भाषा जिवित रहन्छ हाम्रो नेपालीत्व र राष्ट्रियता कहीँ जांदैन । यदी यो भाषा लोप भयो भने हाम्रो नेपालीपन, नेपालीत्व र नेपाली राष्ट्रियता हराएर जान्छ । खस भाषाका अगाडि झन्डा र पोशाक त गौण कुरा हुन् ।"


पछिला समयमा राष्ट्रियता, देशप्रेम् र नेपालीत्ववारे सन्चार माध्यमहरुमा, खासगरी बिधुतिय समाचार-पत्र, ब्लग र मुहार पुस्तिका आदिहरुमा थुप्रै बिचार, प्रायोजित हल्ला र स्याल-हुइँयाहरु प्रकाशमा आए। राजनीतिक व्रितमै फलाना 'र'को एजेण्ट, ढिस्काना साउथ ब्लकको नोकर, तिस्काना भारतीय राजदुतको धुपौरे आदि इत्यादी लान्छना लगाएर एक अर्काको राष्ट्रियतामै प्रश्न चिन्ह खडा गरे । भारत बिरोधी मानसिकता नेपालीहरुमा पहिलेदेखि नै थियो । पन्चायतको नचाहिँदो राष्ट्रवादले भारतलाई घ्रिणा गर्न हामीलाई सिकायो र त्यही घ्रिणामा टेकेर राजा र पञ्चेले लामो समयसम्म हामीमाथि एकछत्र शासन गरे । अब रहयो भारतीय हेपाइ र हस्तक्षेपको कुरा- ठुला देशहरुले फुच्चे देशहरुलाई बिभिन्न मामिलामा औंला ठड्याउने र हस्तक्षेप गर्ने काम संसारकै चलेको नियम हो, नेपाल अपवादभित्र पर्दैन । तर त्यस्ता बलमिच्याइंहरुलाई साम, दाम, दण्ड, भेद, नीति अपनाइ बढो कुशलतापुर्वक सामना गर्नुपर्नेमा नेपाल जस्तो ख्याउटे देशले एकोहोरो रुपमा "धोती मुर्दावाद" भनी हरहमेशा सडकमा उफ्रने मात्र काम गरेको खण्डमा सडकको धुलो सिवाय केही भेटदैन । संयुक्त राज्य अमेरिका, बेलायत, रुस, चिन र अन्य दादा भै टोपल्ने देशहरुले आआफ्ना प्रभुत्वमा रहेका देशहरुमा बेला बेलामा मुडकी उज्याउंदै आएका छन् । फुच्चे देशका केही कुशल शासकहरु त्यस्ता दादागिरीलाई कुटनितिक रुपमा सल्टाउँछन । तर हाम्रा राजनितिज्ञहरु अत्यन्तै गैह्र जिम्मेवारीपुर्ण त्यस्ता मामिलालाई सडकबाट सल्टाउन खोज्छन् । "राष्ट्रियतामा आँच" नारा उरालेर जनताको भावनासंग खेलबाड गर्छन् ।


पञ्चायतकालदेखी नै हाम्रो नेपाली राष्ट्रियता हामीसंगै छ र त्यो राष्ट्रियता भासिएको, मासिएको र नासिएको छैन । सत्ताच्युत भएका राजनीतिक पार्टीहरुले बेलाबेलामा 'राष्ट्रियता' 'राष्ट्रिय अखण्डता' र सार्वभौमसत्तामा आँच आएको जस्ता झेली कुराहरु गरेर जनताको ध्यान आफुतिर तान्न कोशीश गर्छन् । "राजा नरहे देश रहन्न, कांग्रेस नरहे प्रजातन्त्र मासिन्छ" भनेर पहिले पहिले पनि धेरै भट्ट्याउँथे । राजा रहेनन, देश जिउँदै छ र कांग्रेस खुम्चेको छ, तर प्रजातन्त्र फष्टाएर लोकतन्त्र भएको छ । मेची पारीबाट र अन्य भारतीय सिमा क्षेत्रमा बेला बेला अतिक्रमणहरु हुने गर्छन् । बेलुकी नेपालमा सुतेको मनिस भोलिपल्ट भारतमा बिउंझेको घटना पनि छन् । अवश्य पनि यो राष्ट्रिय अखण्डतामा आँच हो । के निहुँ पाउँ र सत्तासीनलाई हिंग हालुँ भनेर दाउ छोपेर बसेका प्रतिपक्षलाई यो त ठुलो खुराक भैहाल्यो । त्यतिबेला उनिहरुको राष्ट्रवाद हेरी नसक्नु पो हुन्छ त! धर्ना, टायर-जलन, चक्काजाम र नेपाल बन्द गरेर अघ्घोरै राष्ट्रवादी पो भैटोपल्छन् त! भारतीय मुलका नेपालीहरुलाई पनि कुटुँला र मारुँला झैँ गर्ने अन्धो राष्ट्रवादीहरु पनि देखिन्छन् । जग्गा मिच्यो भने मिच्नेसंग कुरा गर्ने कि! सडकमा बच्चा जस्तो उफ्रने ? भारतको प्रान्तीय र केन्द्र सरकारसंग कुरो गर्ने र अटेर गरे संयुक्त राष्ट्र संघ वा अन्तरराष्ट्रिय अदालतमा मुद्दा दायर गर्न सत्तासीनलाई पो दवाव दिनुपर्छ । समस्यालाई कुटनीतिक रुपमा सत्तसिन र प्रतिपक्ष मिलेर पो सल्टाउनु पर्छ । राष्ट्रियताको नाममा दैनिक जनजीवनलाई अस्तब्यस्त पारेर, आक्रोशित बनाएर, उचालेर, उग्र नाराहरु उरालेर जनतालाई सडकमा किन घसिटने? साउथ ब्लकमा बसेर हुन्छ कि सिंहदरवारमा बसेर हुन्छ देशको राष्ट्रियता जोगाउने कामको लागि हामीले नेताहरुलाई चुनेर पठाएका नै छौं क्यारे! सबै मामिला सडकैमा फालिन्छ भने नेताको के काम? पञ्चायतको 'राष्ट्रवाद' राजनितिलाई गणतन्त्रेहरुले पनि अनुसरण गरेको देख्दा नेपालमा भएको परिवर्तनको उपहास भएको छ र अनि 'राष्ट्रवाद' को कार्डलाई बहुसंख्यक नेपालीले अझैसम्म पञ्चायती आँखाले हेरेको देख्दा जनतामा राजनीतिक चेतना आएको भन्न सकिन्न।


अब राष्ट्रियताको अर्को प्रसँग कोट्याउँ- पञ्चायतकालमा प्रतिस्ठापित गरिएका राष्ट्रिय प्रतिकहरु, जस्तै- झन्डा, गाई, पोशाक आदिलाई समयानुकुल परिवर्तन गर्न उपर्युक्त हुन्छ भनी माओवादी र जनताका केही तप्काले आवाज उठाएका थिए र उठाइरहेका छन्। यस्तो आवाज उठेको मात्र के थियो, राष्ट्रियतामा आँच आउने, सार्वभौमसत्तामा धक्का पर्ने, हाम्रो चिनारी नै नासिने र परिचय नै निमिट्यान्न हुने भनी अर्को तप्काले त्यसको जोडदार प्रतिरोध गरे; झन्डा, गाई र पोशाक राष्ट्रियताकै पर्यायवाची शब्दहरु हुन् भनी दलील पेश गरे, तिनै चीजले नेपाललाई विश्व सामु चिनाएको र ती बिना हामी परिचयबिहिन हुने तर्क पेश गरे । बस्तुले राष्ट्रियता प्रतिनिधित्व गर्ने यो कस्तो लंगडो तर्क! निरक्षर र अर्धशिक्षितले ज्ञानको कमीले यसो भन्नु कुनै आश्चर्यजनक कुरो भएन । तर उच्च शिक्षा हासिल गरेका ज्ञानीहरुले पनि राष्ट्रियता भनेको ढाका टोपी, दौरा सुरुवाल, झन्डा आदि हुन भन्ने जस्ता हल्का बिष्लेषण गर्छन् भने एकथरी ज्ञानीहरु चुप बसेर मौन समर्थन गरेको पाईन्छ । यी मौनधारी बौद्विक अवसरवादीहरु समाजको घातक तत्वहरु हुन् र परिवर्तनका बाधक हुन् । पटक पटक परिभाषित र पुनर्परिभाषित गर्नुपर्ने हाम्रो राष्ट्रियता टोपी, झन्डा र दौरा सुरुवालैमा निहित छ या त्यो भन्दा उँचा स्थानमा छ? झन्डा र पोशाक फेर्दैमा हाम्रो राष्ट्रियता नासिने कस्तो चुत्था राष्ट्रियता रहेछ त! सुरुवालको इन्जारमै हाम्रो राष्ट्रियता झुण्डेको छ,दौराको तुनामै हाम्रो राष्ट्रियता अडकेको छ र ढाका टोपीले नै राष्ट्रियता टिकाएको छ भनेर कसैले भन्छ भने त्यो भन्दा हाँस्यास्पद कुरो अरु के हुन सक्छ?


राष्ट्रियता पोशाक र झण्डामा होइन, भावनामा बहनु पर्छ, मुटुमा संगालिनु पर्छ, हृदयमा ब्याप्त हुनुपर्दछ, ब्यवहारमा झल्किनु पर्दछ र कार्यमा देखिनु पर्दछ । कुनै पोशाक बिशेषलाई र झण्डालाई नै राष्ट्रियताको पर्यायवाची शब्द ठान्नु राष्ट्रियताको गलत परिभाषा हो । राष्ट्रिय ठानिएका प्रतिकहरु शास्वत होइनन् । तिनले तात्कालीन रुपमा त्यस देशको प्रतिनिधित्व मात्र गर्ने हो । कालान्तरमा कुनैपनि देशमा राजनीतिक उथलपुथल भै त्यस्ता प्रतिकहरु फेरिन सक्छन् । ईतिहासको कालखण्डमा थुप्रै देशले झन्डा फेरेका छन्, पोशाक फेरेका छन् । बढो राष्ट्रवादी भएर अंग्रेजहरुले शेक्सपियरकै जमानाको लुगा अहिले पनि लगाएको भए अंग्रेजहरु अहिले ढ्टुवारे जस्ता देखिन्थे । जारकालीन रुस र सोभियत रुसमा थुप्रै क्रान्तिकारी घटनाहरु घटे, ब्यवस्था फेरे, झन्डा फेरे, यहाँसम्मकी देशै टुक्रे । तर त्यस देशको राष्ट्रियता टुक्रेको छैन, हराएको छैन, नासिएको छैन । रुसी राष्ट्रियता कायमै छ्, अरुस भएको छैन । धेरै टाढा किन जाने? भारतले धोती फुकालेर भारतीय ढाँचाको सुट लगाउन थालेको पनि मोरारजी देशाइ पछि हो क्यारे! झन चीनले त माओ ड्रेस चटक्क छोडेर देङ सियाओ पिङको पालादेखी पुँजिवादी टाइसुट लगाएर संसारलाई चकित बनाइ दिए । भारत र चीनको खोइ राष्ट्रियता गुमेको छैन त! यि दुई देशहरु त अहिले आर्थिक रुपले हेभिवेट पो बनेका छन् ।


राष्ट्रियताको मापदण्ड के त? राष्ट्रियता के बाट झल्किन्छ? राष्ट्रियता कहाँ, कसरी र केबाट प्रष्फुटित हुन्छ? राष्ट्रियता शब्दलाई कसरी बुझ्ने? देशको ढुङ्गा माटोलाई सुम्सुम्याउँदा राष्ट्रियता देखिने हो कि? I love Nepal लेखिएको र नेपाली झन्डा अंकित टिसर्ट लगायो भने पो राष्ट्र्वादी हुने हो कि? हरहमेशा ढाका टोपी ढल्काए राष्ट्रियताको जगेर्ना हुने हो कि ? हरहमेशा राष्ट्रिय गाना गायो भने पो राष्ट्रियता सम्बर्द्वन हुने हो कि? राष्ट्रियता शब्दलाई कसरी बुझ्ने? शाब्दीक अर्थमा बर्णन गर्ने हो भने राष्ट्रियता र राष्ट्रवाद भन्नु नै देशप्रेम हो, अनि देश भनेको ढुङ्गा माटो र नदीनाला भएको निश्चित भौगोलिक क्षेत्र मात्र नभएर देश भनेको त्यस सिमित क्षेत्रमा बसोबास गर्ने जनता हो । त्यही नेपाली जनता-चाहे त्यो स्वदेशमा होस्, चाहे बिदेशमा होस्, एकले अर्कालाई, शिक्षितले अशिक्षितलाई, बलियाले निर्धालाई, बोलक्कडले निमुखालाई, धनीले गरीबलाई, सक्नेले नसक्नेलाई, जान्नेले नजान्नेलाई परेको बेला मदत गरेको खण्डमा त्यही नै सबभन्दा ठुलो राष्ट्रियता हो, देशप्रेम हो र नेपालीत्व हो । राष्ट्रियताको अर्को मेरुदण्ड चाँहीं खस भाषा हो । नेपाली जनताको संपर्क भाषाको रुपमा पूर्णरुपमा स्थापित भएको खस भाषा नै नेपाली राष्ट्रियता जोगाउने एकमात्र प्रतीक हो । जबसम्म यो भाषा जिवित रहन्छ हाम्रो नेपालीत्व र राष्ट्रियता कहीँ जांदैन । यदी यो भाषा लोप भयो भने हाम्रो नेपालीपन, नेपालीत्व र नेपाली राष्ट्रियता हराएर जान्छ । खस भाषाका अगाडि झन्डा र पोशाक त गौण कुरा हुन् ।


सातसाल अघि र सातसाल पछि पनि सोझा, सिधा र अन्धकारमा रहेका नेपाली जनतालाई राष्ट्रियताको परिभाषा राजा, ढाका टोपी, झन्डा र दौरा सुरुवालको रुपमा अर्थ्याइयो । राष्ट्रियताको प्रतीक राजा रहेनन्, पोशाक र टोपी धेरैले लगाउन छोडिसके, झण्डा प्रश्न चिन्हमा छ । राजनितिक रुपले देशले ठुलै फडको मारिसक्यो, देश गणतन्त्र, धर्मनिरिपेक्ष, नयाँ संबिधान निर्माणतर्फ उन्मुख भएको बेला कुनै धर्म बिशेष झल्किने झन्डा, कुनै जाती बिशेषको पोशाकलाई राष्ट्रिय प्रतिकमा राखिराख्न मिल्ला र ? कुनै धर्म बिशेषको चाडमा सरकारी खजानाबाट लाखौं रुपयाँ खर्च गर्दा धर्मनिरिपेक्षताको उपहास भएन र? बहुजातीय र बहुधर्मीय राज्यमा परिवर्तित परिवेशमा राज्यले नगरी नहुने प्रराम्भिक कार्यहरु कहिले शुरु होला? बिभिन्न भाषा-भाषीलाई बिकास गर्ने समान अवसर प्रदान गरी देवनागरी भाषालाई सम्पूर्ण नेपालकै संपर्क भाषा वा राष्ट्रिय भाषाको रुपमा प्रस्तुत गरेर दह्रो निर्णय कुन सरकारले लेला? कारण खस भाषा नै हाम्रो राष्ट्रियता अक्षुण्ण राख्ने एकमात्र कडी हो, ढुकढुकी हो र राष्ट्रिय पहिचान हो । यसको बिब्ल्याँटो नेपाली राष्ट्रियता सुरुवालको इन्जारमा झुण्डेको छ, दौराको तुनामा अडकेको छ, ढाका टोपीले थामेको छ र झण्डाले जगेर्ना गरेको छ जस्ता कुतर्क गरिए भने यसले जातीय बिद्वेष फैलाई सह-अस्तित्वको भावनामा ठेस पुर्याउने छ ।


First published on November 6, 2011 at 11:08 AM on author's Facebook notes: https://www.facebook.com/notes/sasang-lama/सुरुवालको-इन्जारमा-झुण्डेको-राष्ट्रियता/10150363851998322/

Published with permission from the author.





nepalism_com_logo2019011020007.png
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers and aim to become online marketplace leader with innovative offerings to our digital-age, tech-savvy consumers. Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं ।