top of page

एक बिकासवादी युवाको आत्मदाह आत्महत्याले जन्माएको प्रश्न

-प्रदीप परियार थापा

Opinion: Tribute: पूर्वी नेपालको इलामका युवा व्यावसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले मंगलबार राजधानी काठमाण्डौंस्थित संसद भवन नयाँ बानेश्वर अघिल्तिर आफ्नो शरीरमा पेट्रोल खन्याई जलेर गरेको आत्मदाह आत्महत्याको प्रयास र बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा उनको कारूणिक निधनपछि नेपाली समाजमा बिकराल बढ्दै गएको डिप्रेसन र आत्महत्या (सुसाइड) स्वास्थ्य समस्या, समाधान साथै स्वदेशमै केही गरौं भन्ने युवा व्यावसायी, उद्यमीहरूको असफलता र विदेशी भूमितिर जाने चरम पलायनको कारणहरूबारे गम्भीर प्रश्नहरू खडा भएकोछ। स्वदेशबाट विदेशतिर दैनिक पचीस सय युवाहरू लावालस्कर लागेर निस्किएको निस्किएकै छन्। देशको नीति स्वदेशी उद्यमी मैत्री छैन। घुस नखुवाई गर्न सकिने व्यावसायिक पद्धति छैन। उता डिप्रेसन र आत्महत्या (सुसाइड) रोकथामको जनचेतना, उपचार र काउन्सेलिंग (मनोवैज्ञानिक परामर्श) छैन अनि प्रेमप्रसादहरू किन डिप्रेसनमा नजाउन्? किन नजलून्? किन पलायन नहुन्? कोही छ नेपाली युवाहरूको क्रन्दन सुन्ने?


युवा व्यावसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले आफ्नो लामो आत्महत्या (सुसाइड) नोटमा केही गम्भीर प्रश्नहरू उठाएकाछन्।


सर्वप्रथम, प्रेमप्रसाद आचार्यले आफ्नो फेसबुक स्टाटसमा व्यावसायिक असफलताको कारण उनी चरम “डिप्रेसन” बाट गुज्रेको र “सयौं पटक” आत्महत्या (सुसाइड) प्रयास गरेको उल्लेख गरेकाछन्।यो उनलाई लागेको एक रोग हो। सबै मान्छे व्यावसायिक असफलताकै कारण मर्दैन जसरी प्रेममा असफल हुँदैमा सबैले आत्महत्या गरेर मर्दैनन्। कुनै पनि असफलतानै डिप्रेसन र आत्महत्याको कारण सबैको लागि बन्दैन। असफलतानै सफलताको कडी हो भनेर भनिन्छ र त्यो हो पनि। तर केहीको लागि त्यहीं असफलतानै डिप्रेसन र आत्महत्याको कारण बनिदिन सक्छ। त्यसैले राज्यले तिनीहरूको लागि उपचार, रोकथाम र काउन्सेलिंग (मनोवैज्ञानिक परामर्श) को समुचित व्यवस्था गर्नु पर्दछ।


विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर वर्षेनी ७ लाख ३ हजारले आत्महत्या (सुसाइड) बाट आफ्नो जीवन मृत्यू रोज्ने र हरेक एक व्यक्तिले आत्महत्या गर्दा अरू २० जनाले आत्महत्याको प्रयास गर्ने उल्लेख गरेकोछ।


“An estimated 703,000 people a year take their life around the world. For every suicide, there are likely 20 other people making a suicide attempt and many more have serious thoughts of suicide. Millions of people suffer intense grief or are otherwise profoundly impacted by suicidal behaviours.”