top of page

एउटा अधुरो सपनाको अन्त्य: नारायणीदेखि एट्लाण्टिक महासागरसम्म । स्व. उत्तमकुमार शर्माको अस्तु विसर्जन


-Pradeep Pariyar Thapa

Tribute: न्यू जर्सी- उनी अमेरिका आउँदा भर्खर उन्चालिस कटेका थिए। उनको जीवनमा पनि ‘चालीस कटेसी रमाउँला...’ गीत चरितार्थ भएको थियो हामी जस्तै लाखौं करोडौं आप्रवासीहरूको सपना बिपना जस्तै। उनले आफ्नो जीवनसंगिनीलाई नभेटेको ९ वर्ष कट्नै लागेको थियो तर सम्भवत: अर्को साल पुनर्मिलनको एक दशक मनाउने मीठो सपना बुनेका थिए होलान्। तर दैवको लीला- उनले उन्पचास नकट्दै यो मायावी संसारबाट थुप्रै अधुरा सपनाहरूलाई थाँती राख्दै यो साँसारिक मोहजालबाट मुक्त हुँदै महानिर्वाण प्राप्त गरे। यो हो- स्व. उत्तमकुमार शर्माको मेरो स्मरण। उनको नेपाली नयाँ वर्षको भोली पल्ट अर्थात आज बिहान अप्रिल १५ तारिख एट्लाण्टिक महासागरको गर्भमा अस्तु विसर्जन गरिएको छ। म भावविह्वल छु, उनका परिवार शोकाकुल छन्, उनका आफन्त, साथीभाई र प्रियजनहरू बेचैन छन् तर उनी एट्लाण्टिक महासागरको अथाह गहिराईमा कहिल्यै ननिस्किने गरी क्षण भंगुरमा विलिन् भए। जीवनमा जन्मपछि ग्यारेण्टी भन्ने कुरा आखिर मृत्यू नै त रहेछ।


म आश्चर्यचकित छु, माथिको फोटोमा हेर्नुहोस् त- उनको अस्तु विसर्जन गर्दै गर्दा उनका परिवारजनले अलविदा गर्दै गर्दा एउटा एडमिरल सिगल सेतो चरा ठीक माथि आकाशमा उडीरहेको मेरो आईफोनको क्यामेराले कैद गरेको रै’छ। घरमा आईपुगेपछि यो समाचार लेख्नेक्रममा फोटो हेर्दा देख्न पुगें। आहा, कतै स्व. उत्तमकुमार दाई (स्नेहपूर्वक दाई भन्दै आएको हूँ) को आत्मा त्यो एडमिरलमा सवार थियो कि? गत मार्च १६ तारिख निधन भएका उत्तम दाईको देह हाम्रो सामू छैन तर उनको आत्मा बैकुण्ठबासकैक्रममा एक पंक्षीकोरूपमा अझै हामी वरीपरीनै अन्तिम परिक्रमा गरिरहेको त हैन?

नेपालबाट आफ्नो एक मात्र छोरोको अन्त्येष्टि गर्न आईपुग्नुभएकी ६८ वर्षीय आमा रन्जता शर्माले भक्कानिंदै दिवंगत छोरो स्व. उत्तमकुमार शर्माको अस्तुमा पुष्पगुच्छा अर्पण गर्दै काँपीरहेको हातले नमस्कार गरी अलविदा गर्दैगर्दाको त्यो पल माथिको अर्को एक फोटोमा कैद गर्दा म कम्ता विवस बनिन। म पनि उत्तम दाईकै उमेर आसपासको हूँ, आमाको पीडा कस्तो असह्य भो होला। आमा, माफ गर्नूस्, धैर्य गर्नूस्। हजुरको एक मात्र छोरोको आफ्नो बाबासंगसंगै बैकुण्ठबास पक्का हुनेछ।

स्व. शर्माको अन्तिम विदाई


अप्रिल ३ तारिख शनिवार बिहान न्यू जर्सी राज्यको न्यू ब्रन्सविक सहरमा आयोजित स्मृति सभामा उपस्थित परिवारजन, आफन्तहरू र कोरोना महामारीको पावन्दीको कारण भर्चुवल जुम लाईभ प्रसारण मार्फत सहभागी सयौं परिवार र प्रियजनहरूले भावविह्वल हुँदै स्व. शर्मालाई अन्तिम विदाई गरेका थिए।


स्व. शर्माकी ६८ वर्षीय आमा रन्जता शर्माले आफ्नो प्यारो छोरोको पार्थिव शरीर समिपमा पुगेर भक्कानिदै भनेकि थिईन्- “बाबु, राम्रोसंग जानू है”। यो कस्तो बिडम्बना हो- आमाले आफूले जन्माएको छोरोको अन्त्येष्टिमा सहभागी हुनु पर्ने ! भगवान यति निर्दयी हुनैसक्दैन।

जर्सी सिटी सहरका नेपालीहरू बिच अत्यन्त मिलनसार र सहयोगी व्यक्तित्वको रूपमा परिचित व्यावसायी एवं समाजसेवी ४९ वर्षीय स्व. उत्तमकुमार शर्माको गत मार्च १६ तारिख असामयिक निधन भएको थियो।


कोरोना कहरको कारण २० जना मात्र स्मृति समारोह र अन्त्येष्टि कृयाक्रममा प्रत्यक्ष सहभागी हुन मिल्ने नियम लागू भएको कारण शुक्रवार अपरान्ह स्व. शर्माको पार्थिव शरीरलाई सार्वजनिक सम्मानको लागि (बीस जनासम्म उपस्थिति) राखिएको थियो भने शनिवार स्मृति समारोह र अन्त्येष्टि कृयाक्रम बाँकी बीस जनासम्मको उपस्थितिमा आयोजना गरिएको थियो। अन्य प्रियजनहरू भर्चुवलजुम लाईभबाट सहभागी हुन विवस थिए।


भर्चुवल लाईभ प्रसारणको यस्तो असह्य पीडा


स्मृति सभाको भावविह्वलता यस्तो असह्य थिषो कि यो पंक्तिकारले शर्मा परिवारसंगको लामो पारिवारिक निकटता र टेक्निकल दक्षताको कारण शर्मा परिवारकै सल्लाहमा स्मृति सभाको जुमभर्चुवल लाईभ प्रसारण गर्ने जिम्मा लिए पनि स्मृति सभामा उपस्थित सकल परिवार र आफन्तजन भावविह्वल बनेपछि यो पंक्तिकारले पनि मन थाम्न सक्ने कुरै भएन। जिवनको २९ वर्ष लामो रिपोर्टिंगमा कैयन स्मृति समारोहहरूमा यो पंक्तिकारले भाग लिए पनि जीवनपर्यन्त अत्यन्त निकट रहेका स्व. उत्तमकुमार शर्माको अन्त्येष्टि कृयाक्रमको लाईभ प्रसारण गर्नु ठूलो चुनौती बन्यो। उता ९ वर्षदेखि आफ्नो खसमको प्रतिक्षामा रहेकी स्व. शर्माकी श्रीमति जो भिसा पावन्दीको कारण नेपालबाट यसै भर्चुवल लाईभ हेर्न विवस थिईन् । त्यतिमात्र हो र ! उनैको रातो पोते, मंगलसुत्र र रातो चुरा स्व. शर्माको पार्थिव शरीरको छातीमा राखेको दृष्य उनले कसरी हेर्न सकिन् होलिन्, कठै।


त्यसैगरी, नेपालमै रहेकी छोरी र अष्ट्रेलियामा रहेका जेठो छोरोको विवसता उस्तै थियो । यि सब सम्झेर यो पंक्तिकार हरेक सेकेण्ड प्रसारण हुने लाईभ फिडसंगै मर्मान्त बनी रह्यो। यता अष्ट्रेलियाबाट बाबूको अन्त्येष्टि गर्न आईपुगेका कलिलो कान्छो छोराले ९ वर्षपछि आफ्नो प्रिय बाबालाई पहिलो पटक प्रत्यक्ष मात्र देखेनन्, कठै, अन्त्येष्टि कृयाक्रम निभाएर दागबत्ती दिन र अन्तिम पटक अन्न र जल पनि अर्पण गर्न बाध्य भए। यसरी यो पंक्तिकारले जीवनकै असह्य पीडा महसूस गर्दै आफ्नो कर्तब्य पुराग र्यो। यो पंक्तिकारले स्व. शर्मालाई सन् २०१२ मा उनी नेपालबाट आएकै साल भेटे देखिनै ‘दाई’ भनेर सम्बोधन, प्रेम र आदरसम्मान गरेको हो। त्यसैले, यत्ति भन्ने हक मागें- प्रिय दाई, तिमीले हामीलाई धेरै रूवाएर अल्पायूमै हामीबाट बिदा भयौ तर हाम्रो हरहृदयमा सदा रहनेछौ। तिम्रो बैकुण्ठबास होस्।”


स्व. शर्माको निधनको कारण


स्व. शर्माको निधन गत मार्च १६ तारिख आफ्नो व्यावसायको ट्रेलर ट्रक पार्क गर्ने स्थानमा शर्मा मृतअवस्थामा प्रहरीले भेटेपछि उनका परिवारलाई जानकारी गराईएको थियो। मृत्यूको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ।


को हुन् उत्तमकुमार शर्मा ?


न्यू योर्क निवासी तर न्यू जर्सी राज्यमा विगत ८ वर्षदेखि ट्रान्सपोर्टेशन व्यावसायमा संलग्न उत्तमकुमार शर्माको नेपालमा चितवनको भरतपुर जन्मस्थल हो। उनको जन्म सन् १९७१ को अगष्ट १४ तारिख भएको हो।


सन् २०१२ मा अमेरिका आएका शर्माका तीन दिदीबहिनीहरू छन् भने उनी एक्लो छोरो हुन्। स्व. शर्माकी श्रीमति, छोरी र एक बहिनी नेपालमा छन् भने दुई छोराहरू अष्ट्रेलियामा अध्ययनरत छन्।उनका एक दिदी र एक बहिनी अमेरिकामा छन्।


उनका बाबा लोकनाथ शर्मा स्वर्गवासी भैसकेका छन् भने उनकी बयोबृद्ध ६८ वर्षीय आमा रन्जता शर्मा हुन्। आमा नेपालबाट दिवंगत छोराको कृयाक्रम गर्न अमेरिका आईपुगेकी हुन् । उता, अष्ट्रेलियाबाट कान्छो छोरा पनि आफ्नो स्व. बाबाको कृयाक्रम संस्कार पुरा गर्न अमेरिका पुगेका हुन्।


स्व. शर्माकी दिदी सरिता पराजुली र बहिनी रेणु शर्मा सापकोटा जर्सी सिटी निवासी हुन्। रेणु शर्मा वुमन फर कज (डब्ल्यूएफसी) को संस्थापक सदस्य र दोश्रो पूर्व प्रेसिडेंट हुन् भने उनी उदियमान ट्रान्सपोर्टेशन व्यावसायी पनि हुन्। सरिता पराजुली डब्ल्यूएफसीको संस्थापक सदस्य र प्रथम कोषाध्यक्ष हुन्।


सर्बप्रिय


समाजसेवी उत्तमकुमार शर्माले जिवनपर्यन्त जर्सी सिटी नेपाली समाजलाई औधी माया गरी रहे।अझ नेपाली महिलाहरूको संस्था डब्ल्यूएफसी मार्फत थुप्रै नेपाली कार्यक्रमहरूलाई उनले दिल खोलेर सहप्रायोजन गरी रहे। खानाको परिकार बनाउन सौखिन शर्माले एउटा तीज पर्वमा डाकिएको नारी भेलामा आफू एक्लैले सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई आफ्नै हातले बनाएको स्वादिष्ट दर खुवाएका थिए। यस्ता मनकारी थिए उनी। समाजसेवी शर्माको असामयिक निधनको खवरले न्यू जर्सी नेपाली समुदाय स्तब्ध बनेकोछ। सबैका प्रियपात्र स्व. उत्तमकुमार शर्माको पार्थिव शरीर अब यो संसारमा नरहे पनि उनको सहृदयी मन र सहयोगको हात अघि बढाउन सदा तत्पर उनको गुण नेपाली समाजले कहिल्यै बिर्सने छैन। उनको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धांजली !


Read related news:


0 comments
bottom of page