दुई मध्ये एक अगुवा कुसुन्डा भाषा वक्ताको मृत्युसंगै विश्वको मातृभाषाहरूको ज्ञानमा अपूर्णीय क्षति



भाषाका कुरा:

अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुवरी २१) को अवसर विषेश:

-अमृत योन्जन-तामांग


माघको महिना। जाडो यामको झरीले काठमाडौं निकै कठाङ्ग्रिएको थियो। जनवरी २५ तारिख अचानक ८२ वर्षीया ज्ञानी मायाको मृत्युको खवर फेसबुकमा देखा पर्यो। म स्तब्ध भएँ। केही बेरमै सामाजिक सञ्जालका वालहरू भरियो। सन्नाटा सर्वत्र ! मजस्ता भाषाको संसारमा रमाउने रझुम्नेहरूका लागि यो निकै दुखद समाचार थियो। को हुन् ज्ञानीमाया ? नेपालको दांग जिल्लाको बनजंगलमा बसोवास गर्ने उनी कुसुन्डा भाषाका एक मात्र ज्ञाता हुन्। अब यो भाषा बुझ्न र बोल्न सक्ने ४२ वर्षीया कमला कुसुन्डा मात्र छिन्- उनकी काकाकी छोरी ।अन्य कुसुन्डाहरू भाषा बुझ्न पनि सक्दैनन्। यसैकारण कतिपयले ज्ञानीमायालाई कुसुन्डा भाषाका अन्तिम वक्ता मान्दछन्।उनीसँगसँगै कुसुन्डा भाषाको पनि मृत्यु भएको ठान्दछन्।


पाँच दसक अगाडिसम्म कुसुन्डाहरू वनमा नै बस्दथे- फिरन्ते जीवनशैली। वनमा नै निर्भर- सिकार र कन्दमुलको भरमा। उनीहरू वनको राजा कहलिन्थ्यो। सहरीकरणले वनको क्षयीकरण बढदै जाँदा र रोगव्याधाले गर्दा पनि वनराजाहरू घट्दै गए र बचेखुचेकाहरू पनि विस्थापित भए। ज्ञानी मायाको वुबा बलबहादुरको वनमा नै मृत्यु भएपछि उनकी आमा गोकुली पुन पाँच छोराछोरीसहित गाउँ फर्केकीथिइन्। ज्ञानीमाया जंगलमै हुर्केकी थिइन् र उनको अभिव्यक्तिको साधन थियो- आफ्नै कुसुन्डा भाषा।

आमा-बुबाको पाँच सन्तानमध्ये उनी माइली छोरी थिइन्। आफ्ना परिवारमा बाँचेकी उनी मात्र सन्तान हुन्। यसले कुसुन्डा भाषाको अवस्था वोध गराउँछ। अब यो भाषा बुझ्न र बोल्न सक्ने ४२ वर्षीयाकमला कुसुन्डा मात्र छिन्- उनकी काकाकी छोरी । अन्य कुसुन्डाहरू भाषा बुझ्न पनि सक्दैनन्।यसैकारण कतिपयले ज्ञानीमायालाई कुसुन्डा भाषाका अन्तिम वक्ता मान्दछन्। उनीसँगसँगै कुसुन्डा भाषाको पनि मृत्यु भएको ठान्दछन्।

कुनै एउटा मातृभाषाको मृत्युले मानव जीवनमा के फरक पार्छ र ? यस्ता प्रश्न पनि हाम्रो मनमा उठन सक्छ। मानिसको आर्थिक जीवनमा खासै फरक नपार्ला तर मानव सिर्जित ज्ञानविज्ञान र सीपको क्षेत्रमा यसले निकै ठुलो प्रभाव पार्न सक्छ। भाषाको मृत्युले संसारमा भएको कुल ज्ञानमा क्षय भएको हुन्छ। कुसुन्डा भाषा लोप हुनाले एउटा भाषा मात्र होइन, भाषाको परिवारकै अन्त्य भयो । कुसुन्डा भाषाका अध्येताहरूले यस भाषालाई कुनै पनि परिवारमा राख्न सकेका थिएनन् र अवर्गीकृत वाफरक परिवार (आइसोलेटेट) का भाषामा राखे। कुसुन्डा भाषा आफैमा एक परिवार हो। यस तथ्यले हाल संसारमा बोलिने कुनै पनि भाषाको परिवारमा यो भाषा पर्दो रहेनछ भन्ने ज्ञान हुन्छ। यसर्थ संसारको कुल भाषा परिवारमा एउटा परिवार घट्यो। अर्को, यस भाषाको उच्चारण पद्धति (ङ, ञ, णजस्ता नाके वर्ण छैन) र संरचना नै फरक रहेको छ। वनमा बस्ने फिरन्ते जाति भएको हुनाले यस भाषामा वन्य जीवजन्तु, वनस्पति, कन्दमूल, भूवनोट सम्वन्धी ज्ञान अनन्त हुनसक्छ, जस्तै माझी भाषामा माछाको बारेमा जति ज्ञान हुन्छ, त्यत्ति शेर्पा भाषामा हुँदैन र शेर्पामा हिउँको बारेमा जति ज्ञानहुन्छ त्यत्ति लिम्बुमा हुँदैन। यस्तै लिम्बुमा जति जाँडबारे ज्ञान हुन्छ, त्यत्ति नेपाली (खस, पर्वते) भाषामा हुँदैन। यसर्थ कुसुन्डा भाषाका रहेको ज्ञानबाट हामी बञ्चित हुने भयौं।


म २०६३ तिर लोकवार्ता अध्ययनको क्रममा केही महिना धनकुटामा रहँदा के थाया पाएँ भने लिम्बु महिलाले बनाएको मर्चा (जाँड बनाउने औषधि) मा १८ प्रकारका जडीबुटी मिसाएको हुन्छ। मैले घरमा ल्याएर प्रयोग गरेर हेर्दा जाँडको स्वाद अब्बल थियो- औषधीय वास्नायुक्त, बेजोडको शक्तिवर्धक, उर्जावत्। यस्ता ज्ञानविज्ञान र प्रविधिसँग मातृभाषा गाँसिएर आउँछन्। यसैले न तोङ्बाको अनुवाद अर्को भाषामा सम्भव हुनसक्छ, न गन्द्रुक-सिन्कीको, न छोइला-कचेलाको, न त म:म:-थुक्पाको र नस्यान्डविचको नै। यसर्थ भाषा जाति वा समुदाय विशेषसंग सम्बन्धित हुन्छ। यसैले भाषालाई पहिचानको बलियो आधार पनि मानिएको छ।


यसैगरी, बडघर, रोधीं, ताम्बा, लामा, फेदाङमा जस्ता शब्दले सम्बन्धित जातिको संस्कृति बोकेको हुन्छ। भाषालाई संस्कृतिका वाहक मानिएको छ। इतिहासकारहरू कुनै भाषामा रहेको स्थाननामकै आधारमा त्यहाँका निवासी र उनीहरूको इतिहासको खोजी गरिरहेका हुन्छन्। यसर्थ इतिहासका स्रोतर संस्कृतिलाई बचाइ राख्ने शसक्त माध्यम पनि भाषा नै हो। नेपालका प्राचीनकालीन अभिलेखहरूमा रहेका गैर-संस्कृत शब्दहरूकै आधारमा यहाँका आदिबासीहरूको खोजी भइरहेकोछ।

यसर्थ भाषाका अन्तिम वक्ता मर्दा एउटा भाषा मात्र लोप हुँदैन, भाषिक समुदायको संस्कृति पनि लोपहुन्छ र इतिहास पनि लोप हुन्छ र अन्ततः पहिचान नै लोप हुन्छ। यसर्थ भाषिक विज्ञ र अभिन्ताहरू भाषाको संरक्षण, संवर्धन र विकासमा लागि परीरहेका हुन्छन्। भाषाको पक्षमा वकालत गरिरहेका हुन्छन्। सडक र सदन निरन्तर निरन्तर तताइरहेका हुन्छन्।


यसो हो भने भाषालाई कसरी बचाउन कसरी त ? हो, यसमा हाम्रो ध्यान जान आवश्यक छ र गहरिएर उपायहरू खोज्न र कार्यान्वयन गरिनु आवश्यक छ। मेरो विचारमा भाषालाई बचाउने एकमात्र अचुक उयाय बोल्नु हो । बोलेर मातृभाषालाई बचाउन सकिन्छ । बोल्नु भनेको गाउनु पनि हो, फलाक्नु पनि हो र सुन्ने गरी पढनु पनि हो। यसर्थ जसरी पनि बोल्नु आवश्यक छ- घर-परिवारमा, मेलापातमा, संस्कृति संस्कारमा। बोल्नको लागि परिवेश तयार गरिनु आवश्यक छ। यस कार्यमा स्वयम् मातृभाषी, मातृभाषी परिवार, मातृभाषी समाज, सरकार र सरकारका विभिन्न निकायहरू (विद्यालय, विश्वविद्यालय, शिक्षण संस्थान, प्रज्ञा-प्रतिष्ठान, भाषा आयोग आदि) भाषा प्रगोगकोलागि लाग्नु पर्दछ। अनि कुसुन्डा, तिलुङ, लुङखिम जस्ता मृतप्रायः भाषाका वक्ताहरूलाई नै बचाउने संयन्त्र निर्माण गरेर सहयोग गरिनु पर्छ।


दोस्रो उपाय हो- मातृभाषालाई विद्यालय लगायतका शिक्षण संस्थाहरूमा पढने पढाउने व्यवस्था गरिनु। यसो गरिदा बालबालिकाले भाषा प्रयोग गर्ने परिवेश तयार हुन्छ र भाषाले जीवन्तता पाउँछ, निरन्तरता पनि पाउँछ र पुस्तान्तरण पनि हुन्छ। बालबालिकाको मातृभाषामा पढन पाउने भाषिक अधिकार पनि सुरक्षित हुन्छ। भाषिक समुदायमा गर्वको अनुभूति हुन्छ।

तेस्रो उपाय हो, भाषाको अभिलेखीकरण गर्नु अर्थात् भाषाको लोकवार्ता संकलन गर्नु र शब्दकोश तथा व्याकरण आदि तयार गर्नु हो। यस कार्यले भाषा मरिहाले पनि आवश्यक परेमा भाषालाई पुनर्जीवित गर्न सकिन्छ। भाषाको श्रव्य-दृष्य सामग्रीको उत्पादन निकै प्रभावकारी हुन सक्छ।


चौथो उपाय हो- आमसंचार, अदालत, लोकसेवा, सरकारी कामकाज आदिमा मातृभाषाको प्रयोगलाई विस्तार गरेर मातृभाषीहरूको भाषिक अधिकारको सम्मान गर्नु र उनीहरूका लगि रोजगारी सिर्जना गर्नु पनि हो। यसो गर्न सके मातृभाषाहरूले पनि फुल्ने, फक्रिने र फल्ने मौका पाउँनेछ।उनीहरूको भाषाले दीर्घ जीवन प्राप्त गर्नेछ।


अन्त्यमा, हामी के कुरा प्रष्ट हुनु पर्छ भने भाषा ज्ञानविज्ञानको अथाह भण्डार हुनका साथै संस्कृतिको वाहक र पहिचानका संवर्धक पनि हुनाले यसलाई बचाउन आवश्य छ। भाषा निकै संवेदनशील बिषय पनि हो। भाषाको संवेदनशीलता बुझ्न नसक्दा विश्वको मानचित्रमा 'बंगलादेश' जस्ता नयाँ नयाँ देश बनेका छन्। ठुला ठुला युद्ध र संघर्षहरू भएका छन्। नेपाल जस्तो बहुभाषिक मुलुकमा बहुभाषिक समाजलाई हुर्काउन आवश्यक छ, यसले द्वन्द्व घटाउन र शान्तिलाई दिगो बनाउन मद्दत गर्नेछ ।


र, कुसुन्डा भाषाका अन्तिम एक मात्र वक्ता कमला कुसुन्डालाई नै बचाएर उनको शाखा सन्तानलाई उनी मार्फत् भाषा सिकाउने संस्थान विकास गरेर कुसुन्डा भाषालाई पुनर्जीवन दिन आवश्यक छ ।यसतर्फ सम्बन्धित सबैको विशेष गरी दांग लमहीका स्थानीय सरकार, भाषा आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सक्रियता बढन आवश्यक छ। यस कार्यमा भाषा अभिन्ताहरूको पहल कदमी बढोस्। शुभकामना !


-Amrit Yonjan-Tamang

बौद्ध, काठमाडौं

२१ फेब्रुअरी, २०२० ।

नोट: लेखक अमृत योन्जन तामांग नेपालका मातृभाषाहरूबारे अनुसन्धान र लेखनमा सकृय सुपरिचित भाषाविद हुन्।

nepalism_com_logo2019011020007.png
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers and aim to become online marketplace leader with innovative offerings to our digital-age, tech-savvy consumers. Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं ।